Nepalichhati's Blog

मार्च 10, 2010

म काठमाडौंको मान्छे

Filed under: poem — Karmath @ 2:38 अपराह्न
म काठमाडौंको सम्भ्रान्त
परिवारमा जन्मेको मान्छे
म काठमाडौंको Boarding मा
अङ्ग्रेजी रटेर हुर्केको मान्छे,
मलाई तिम्रो गरिवीले काँही छुदैंन
मलाई राष्ट्रियताको बोल सुन्ने बानी छैन ।
मेरो शहरको वरिपरि,
जस्तै विपत्ती पनि थेग्न सक्ने
बलियो पर्खाल उभिएको छ,
यहाँ कोशीको बाढी छिर्न सक्दैन,
बाग्मतीको बाढी भित्रै हराउँछ,
यहाँ पहिरोले मलाई केहि लर्छादैन,
भूकम्पले पनि साना टहरा भत्काउलान्
मेरो सिमेन्टले बनेको बलियो महल ढाल्दैन ।
हिजो जब डर र त्रासमा तिमीहरु
बाचेँको अभिनय गर्दै थियौ,
म निर्धक्क भएर सिनेमा हेरी रहेको हुन्थे,
तिमी जब भोकले रन्थनेर,
कुहिएको चामालको लागि तछाड मछाड गथ्र्यै,
म लाईन लागेर पाँथतारे होटलको पार्टीमा
गरम मेलामाइनका प्लेटहरु भर्दै हुन्थे,
तिमीले आफ्नो गोली लागेको छोराको लाश उठाउँदाको तस्वीर
हेरी रहेका मेरो बाबुको Mood On गर्न
गिलासमा हाली महँगो रक्सी पिलाएको छु मैले,
तिम्रो विदुवा बुहारीलाई जंगलमा लगि
ब्वाँसोहरुले लुछ्दै खाँदै गर्दा,
म मेरी प्रीयासँग मखमली ओछ्यानमा
योवन साट्दै गरेको हुन्थें,
तिमी तेल किन्न नसकी
ओभानो तरकारी खाँदा
म Petrol को लाईन बस्नु पर्याे
भनि गुनासो गर्दै थिएँ,
तिमी एक भारी दाउराको लागि
तीन कोश हिड्दा म
गाडीमा झुण्डेर
यात्रा गर्नुको पीडा पोख्दै थिएँ ।
तिमीलाई याद होला,
तिमी जहाँ आफूलाई नेपाली भनी
विरताको गीत गाउँदै हिड्थ्यौ,
त्यहाँ जब भारतीय झण्डा गाडियो,
तिमी आफ्नो राष्ट्रियता खोज्दै
मेरो शहर पसेका थियौ,
तिमीले मलाई तिम्रो लागि लडिदिन आवहान पनि गर्यौ,
तर म मेरो छिमेकी सँग
मेरो दुई ईञ्च जग्गाको लागि लड्दै थिएँ ।
हिजो कालापानीको लागि तिमी रुँदा,
आज सुस्ताको लागि तिमी चिच्याउँदा
न मैले तिम्रो आशँु देखेँ
न मेरो कानले केहि सुन्यो ।
मैले दुःखको छायाँ समेत आफूलाई
पर्न दिएको छैन,
मेरो हरेक मागहरु मेरो बाबुले
सहजै पुरा गर्देका छन्,
त्यसैले, अहँ म तिम्रो
दुःख बुझ्नै सक्दिन,
मेरो आखाँबाट तिम्रो पिडामा आशँु पटक्कै झर्दैन,
मलाई राष्ट्रियताको भावना पोख्दै नपोख,
किन कि म
काठमाडौंको मान्छे,
सुविधामा हुर्केको मान्छे,
तिम्रो भन्दा भिन्दै संसारको मान्छे ।
कर्मठ सुवेदी
२०६५।०५।२६
विहीबार
Advertisements

Blog at WordPress.com.